काठमाडाैं मंसिर ४,
आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्थाको महापर्व छठ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने पर्वको चौथो दिन आज देशका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै छठ सम्पन्न भएको हो । ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ समापन गरेका हुन् ।
बर्तालुले पञ्चमीको ‘खरना’ विधियता निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका छन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ ।
पर्व सकिएसँगै घरघरै प्रसाद खाने/खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी/चेली (छोरी, दिदीबहिनी, फूपू), मित/मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।
मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ (छठको कोसेली) भनिन्छ ।
यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।
केही दशकअघि मिथिला क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनेको छ ।
मुलुकको राजधानी काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ ।
पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडपर्व साझा बन्दै गएका छन् ।