काठमाडौं चैत ७
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआईजी० श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
ज्ञवालीले उमेर ढाँटेर जागिर खाएको भन्दै प्रमाणसहित उजुरी परेपछि अख्तियारले छानबिनका लागि सोमवार गृह मन्त्रालयलाई पत्राचार गरेको स्रोतले जानकारी दियो ।
२०५० साल पुस ९ गते भर्नाका लागि खुलेको विज्ञापनमा आवेदन दिएर ज्ञवाली प्रहरी सेवामा भर्ना भएका थिए ।
नागरिकताको प्रमाणअनुसार उनी प्रहरीमा भर्ना हुन पाउने देखिँदैन ।
विज्ञापनको मितिसम्म ज्ञवाली २६ वर्ष भइसकेको देखिन्छ । २५ वर्षसम्म मात्र प्रहरीमा भर्ती हुन पाउने व्यवस्था छ ।
नागरिकता सच्याएर भर्ना भएको आरोप उनीमाथि छ ।
एआईजी ज्ञवालीको सिटरोल र नागरिकतामा जन्ममिति फरक देखिएको छ ।
उनको जन्ममिति शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ भदौ २६ र नागरिकतामा २०२४ चैत २१ देखिएको छ ।
उनको प्राप्त नागरिकताअनुसार २०४१ चैत २१ गते १७ वर्ष पुगेको देखिएको छ ।
यस्तै तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएको प्रमाणपत्रमा उनको जन्म २०२५ साल भदौ २६ गते देखिएको छ ।











