मायाटार । चितवनको इच्छाकामना गाउँपालिकाले वडा नं. २ मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र संचालनमा ल्याएको छ ।
बिहिबार कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले स्वास्थ्य केन्द्रको नवनिर्मित भवन समुद्घाटन गर्दै सेवा शुभारम्भ गरेको हो । स्वास्थ्य केन्द्रको शुभारम्भमा एक वृद्धाको स्वास्थ्य जाँच गरिएको थियो ।
स्वास्थ्य इकाई केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले पालिकाका सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने अभियान अन्तरगत मायाटारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको स्थापना गरिएको बताए ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत हरि देवकोटाका अनुसार मायाटारमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएसगैँ इच्छाकामनामा स्वास्थ्य संस्थाको संख्या १२ पुगेको छ । ५ वटा स्वास्थ्य चौकी सहित, आधारभुत स्वास्थ्य इकाई र सामुदायिक स्वास्थ्य इकाई गरि १२ वटा स्वास्थ्य संस्था रहेका छन् ।
गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयहरु भने खुशी भएका छन् । यहाँका स्थानीयहरु सामान्य चोटपटक लाग्दा समेत २/३ घण्टा हिँडेर काउले वा चण्डीभञ्ज्याङ जान बाध्य थिए ।