काठमाडाैं जेठ १०,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको छानबिनमा सरकारको मुटु काम्न थालेको टिप्पणी गरेका छन् । सरकारका वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलका लागि बुधवार संसदको रोष्टममा उभिएका लामिछानेले नक्कली शरणार्थी प्रकरणलाई थामथुम नपार्न चेतावनी दिए ।
आरोपितलाई प्रहरी कार्यालयसम्म रेड कार्पेट ओच्छाएर भए पनि बयान लिन उनले आग्रह गरे । ‘शरणार्थी प्रकरणमा बालुवाटारभित्र, सिंहदरवार र मन्त्रीक्वाटरमा पैसा बुझाएको कुरा आएको छ । राज्यले छानबिन गरेर विश्वासको वातावरण बनाउन सक्छ । कसैको नाम आएपछि प्रहरीले अनुसन्धान गर्न सक्छ । कसैलाई हिलो लाग्छ भने प्रहरी कार्यालयमा रेड कार्पेट बिच्छाए हुन्छ । नेपाली जनतालाइई विश्वासको वातावरण बनाउनुस्’ उनले भने ।
लामिछानेले नक्कली शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले मुटु कमाएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीले मुटु कमाउदिनँ भन्नुभएको थियो । तर कमाएको जस्तो लाग्यो । प्रधानमन्त्रीजीको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने हो । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि जस्तो लागेको छ ?’ प्रचण्डका अगाडि लामिछानेले भने, ‘जस्ता मान्छेको नाम आएको छ, एकपटक बयानका लागि नबोलाउने कुराले अविश्वासको वातावरण बनाएको छ । अन्तर्राष्ट्रिय बेइज्जत भएको विषय थामथुम नगराउनु होला ।’
लामिछानेले नक्कली शरणार्थी प्रकरण दबाउन तीन पार्टी बसेर खासखुस् गरेको गन्ध संसद् र देशभर फैलिएको टिप्पणी गरे । ‘अनुसन्धानमा हाइ प्रोफाइलको कुरा हुँदैन, फाइल गर्नुपर्छ । काले काले मिलेर खाउ भाले जस्तो नहोस्,’ लामिछानेले भने ।










