काठमाडाैं चैत ३०,
झापाको दमक नगरपालिकास्थित आँपगाछीमा रहेको ५ बिघामा निर्मित ७२ मिटर उचाइको १८ तले भ्यू टावर निर्माणमा अनियमितता भएको छ ।
७२ मिटरको १८ तला स्थायी संरचना र २८ मिटर उचाइको स्टिल संरचना रहेको अन्डरग्राउण्ड पार्किङसहित सुविधासम्पन्न भ्यू टावर निर्माण २०७८ पुस २७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असार २७ गते १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँको सम्झौता भएको थियो ।
तोकिएको समयमा कार्य सम्पन्न नभएकाले २०८० असार २७ गते सम्म म्याद थप भएको छ ।
उक्त निर्माण कार्यको दोस्रो भेरिएसनसम्म १० करोड २७ लाख ८१ हजार रुपैयाँ थप संशोधित भई सम्झौता रकम १ अर्ब ६६ करोड ४२ लाख २० हजार रुपैयाँ कायम भएको छ ।
‘यो वर्षसम्म १ अर्ब ४ करोड ४९ लाख १६ हजार भुक्तानी भएकोमा भौतिक प्रगति ७० प्रतिशत तथा वित्तीय प्रगति ६३ प्रतिशत रहेको छ,’ आज सार्वजनिक महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
मुख्य कार्यमध्ये १६ औं तल्लासम्म सुपर स्ट्रक्चरको कार्य सम्पन्न भई १७ औं र १८ औं तल्लाको कार्य बाँकी रहेको छ ।
‘भ्यू टावर संचालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन भएको छैन । माग तथा आवश्यकता पहिचानका आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता अयोजना सञ्चालन गर्नुपर्दछ, प्रतिवेदनमा भनिएको छ।











