काठमाडौँ, वैशाख ६ –
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको छ ।
हरेक १२/१२ वर्षमा मन्दिरको कलेवर फेर्ने गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो । वैशाख १८ गतेसम्म कलेवर फेरी सक्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको मूर्तिमा सूँढ छैन । कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा जयवागेश्वरीको निर्माण सम्पन्न भएको इतिहास छ । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्वार गरिएको थियो । यस्तै, विसं २०७२ वैशाख १२ को भूकम्पमा धेरै क्षति भएपछि मन्दिर पुनःनिर्माण गरिएको थियो ।
जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मी मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरी मै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।
जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी सन्देश मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउनुहुन्छ । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी र नौ ढोकालगायत संरचना रहेको उहाँको भनाइ छ ।
गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी रहेको र लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको जानकारहरू बताउँछन् । मल्लकालमा भने हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहास छ । रासस











