काठमाडौं चैत २७,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सांसद डा. ढाकाकुमार श्रेष्ठको घुस अडियो प्रकरणको पार्टीले सत्यतथ्य छानबिन गर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले पार्टीले तीन दिनभित्र सत्यतथ्य छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्ने र प्रमाणित भए कारबाही गर्ने बताए । आफ्नो पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियन्ता भएको जिकिर उनले गरे ।
उनले यो भ्रष्टाचारको पहिलो घटना नभएको भन्दै अरू घटनामा पनि सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरे । “सांसद श्रेष्ठको टेलिफोन संवादलाई गम्भीर रूपमा लिएको छ । हाम्रो पार्टीले उहाँलाई निलम्बन गरेको छ भने सत्यतथ्य छानबिन गर्न र तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ,” उनले भने, “सुशासन र भ्रष्टाचारविरुद्धको अभियान हाम्रो मुख्य अभियान हो । भ्रष्टाचारीको कुनै जाति र वर्ग हुँदैन । पार्टीले यसलाई गम्भीर रूपमा लिएको छ । तर, यो घटना पहिलो भने हैन । सबैको सत्यतथ्य छानबिन हुनुपर्छ, जसले लोकतन्त्र राम्रो बनाउँछ ।”
प्रमुख सचेतक समेत रहेका सांसद परियारले यो घटनाले पार्टीलाई विचलित नबाउने भन्दै संसद्को गरिमामाथि पर्न गएको मानमर्दनमा क्षमायाचना गरे ।











