काठमाडौं चैत २५,
काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट जोगिएको छ ।
शनिबार अस्पतालको छतमा हरेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकोप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न सम्बन्धित एयरलाइन्सका अधिकारी अस्पताल पुगेका छन् ।
महानगरीय प्रहरीवृत्त महाराजगन्जका अनुसार उक्त हेलिकोप्टर अहिले पनि अस्पतालको हेलिप्याडमा नै रहेको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकोप्टरको पछाडिको पंखा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ ।
हेलिकोप्टरको अहिले प्राविधिकले मर्मत गरिरहेका छन् । दुुर्घटनामा कुनै पनि क्षति नभएको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
ह्याम्स अस्पतालका एक कर्मचारीले छतमा हेलिकोप्टर अवतरणका क्रममा केही प्राविधिक समस्या देखिएको जानकारी पाएको बताए । “हामीले हेलिकोप्टरमा समस्या आएको भन्ने जानकारी पाएका हाँै । हेलिकोप्टर कम्पनीका अधिकारी अस्पताल आउनुभएको छ,” ती कर्मचारीले भने ।
उक्त हेलिकोप्टर चिकित्सकसहितको टोली बिरामी लिनका लागि चितवनको भरतपुर जान विमानस्थलबाट ह्याम्स अस्पतालतर्फ उडेको विमानस्थलले जनाएको छ । रासस











