काठमाडाैं चैत २१,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन ।
न्यायाधीश अनिल सिन्हाले यसअघि रविको नागरिकतासम्बन्धी मुद्दाको फैसलामा आफूले राय दिइसकेकाले हेर्न नमिल्ने निर्णय गरेको निवेदकका तर्फबाट बहसको तयारीमा रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।
राहदानी दुरुपयोगसम्बन्धी अभियोगमा रविविरुद्ध मुद्दा नचलाउने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय खारेजीको मागसहित अधिवक्ता युवराज सफलले सोमवार सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिट न्यायाधीश सिन्हाको इजलासमा पेशी चढेको थियो ।
यसअघि मुद्दाको प्रारम्भिक सुनुवाइमा बहसको अनुमति माग्दै लामिछानेका वकिलहरूले इजलाससमक्ष निवेदन दिएका थिए ।
आफूहरू सरोकारवाला भएकाले बहसमा सहभागी हुन पाउनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता सुनिल पोखरेलको नेतृत्वमा रविका तर्फबाट इजलाससमक्ष निवेदन परेको थियो ।
निवेदनमा पोखरेलका अलावा वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतम तथा अधिवक्ताहरू राजेन्द्रप्रसाद सेढाइँ, रिमा शर्मा, मोहम्मद आफ्ताब आलम, सुविज्ञ पन्त र सरोज सिलवालको हस्ताक्षर छ ।
सामान्यतया प्रारम्भिक सुनुवाइमा निवेदक पक्षले मात्र बहस गर्ने प्रचलन छ । इजलासले अनुमति दिए मात्र विपक्षीले बहसमा सहभागिता जनाउन पाउने छन् ।
बहसका लागि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरू शिवकुमार यादव, कीर्तिनाथ शर्मा पौडेल, राधिका खतिवडा, अर्जुन थापा, नितिका ढुंगाना, श्यामकृष्ण मास्के र केवाङ हाङ राई पालो कुरेर बसेका थिए । अब यस मुद्दामा अर्को दिन सुनुवाइ हुनेछ ।
अमेरिकी नागरिकता कायम रहेकै बेला झुटो विवरण दिएर नागरिकता लिएको र त्यसको दुरुपयोग गरेको अभियोग रविमाथि छ । तर, सरकारले यस विषयमा छानबिन टुंग्याएर मुद्दा नचलाउने निर्णय गरिसकेको छ ।
सोही सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको हो ।











