काठमाडौं फागुन २४,
बिहीवार हुने राष्ट्रपति निर्वाचनका लागि भोट हाल्न प्रदेशका ५५० सांसद काठमाडौं आएका छन् ।
नेपाली कांग्रेस सहितका ८ दलीय गठबन्धन तथा नेकपा एमाले, राप्रपा लगायत दलका प्रदेश सांसदहरू काठमाडौं आइसकेका छन् ।
८ दलीय गठबन्धनले आफ्ना सांसदलाई बुधवार बिहान १० बजेसम्म काठमाडौं आइसक्न निर्देशन दिएको थियो । प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरू काठमाडौं आइसकेका कांग्रेसका एक नेताले जानकारी दिए ।
गठबन्धनले आफ्ना सांसदहरूलाई सामूहिक प्रशिक्षण दिने तयारी गरे पनि निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको थियो । मंगलवार बसेको गठबन्धनको बैठकले पार्टीले आफ्ना सांसदलाई मत हाल्ने तरिका सिकाउने निर्णय गरेको थियो ।
काठमाडौं आएका प्रदेश सांसदहरूले पार्टी कार्यालयमा गएर हाजिर गरेका छन् । ‘पार्टी कार्यालयमा बोलाइएको थियो, उपस्थित भएको जानकारी गराएर छोरीको कोठामा फर्किएँ,’ कांग्रेसका एक सांसदले भने, ‘भोलि १० बजे नै संसद् भवनमा आउन पार्टीले निर्देशन दिएको छ ।’
सांसदहरूले ‘फ्लोर क्रस’ गर्ने या अनुपस्थित रहने आशंकामा ८ दलीय गठबन्धनले सांसदहरूलाई पार्टीको सम्पर्कमा रहनुपर्ने निर्णय गरेका थिए । राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३१६ र प्रदेश सभाका ५५० सांसद मतदाता छन् । संघीय संसद र प्रदेश सांसदको मतभार भने फरक–फरक हुन्छ ।
आगलागी दुर्घटनामा परेका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचाररत रहेका कारण उनी उपस्थित हुने छैनन् । रास्वपाका सभापति रवि लामिछानेको पद गएको र जसपाकी १ समानुपातिक सांसदको निधन भएकाले प्रतिनिधि सभाका २७५ सांसदमध्ये केही अनुपस्थित हुनेछन् ।
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि बिहीवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवनको ल्होत्से हलमा मतदान गर्ने कार्यक्रम छ । ८ दलीय गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
मतदान सकिएलगत्तै गणना शुरू गर्ने र साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।










