चितवन, साउन ७-
गत बर्ष रोजगारीका लागि विदेश पुगेका ५ लाखबढी नेपाली स्वदेश फर्किएका छन् ।
अघिल्लो आर्थिक बर्षमा कोभिड-१९ का कारण अलपत्र परेका, रोजगारी गुमाएका तथा शोषणमा परेका ५ लाख ७२ हजार ५७१ नेपाली स्वदेश फर्किएका हुन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार युएइबाट १ लाख ६० हजार ४७० जनाको उद्धार गरिएको छ ।
त्यस्तै, कतारबाट १ लाख ४८ हजार ७९०, साउदी अरबियाबाट ५२ हजार ७६८, कुवेतबाट २९ हजार ५८२, ओमानबाट ७ हजार ३५१, बहराइनबाट १ हजार ७०७, मलेसियाबाट ६१ हजार ९६१ र अन्य मुलुकबाट १ लाख ९९ हजार २४ जनाको उद्धार गरिएको जनाएको छ ।
यसरी विदेश पुगेर पनि फर्कनेमा खाडीको कतार, युएई, कुवेत, ओमान, बहराइन, साउदी अरबिया, मलेसियालगायत देशहरु अघि रहेको तथ्याङ्कले देखाएको छ ।
यता, पछिल्लो समय नक्कली कागजात वा गलत प्रक्रिया अपनाइ, भिजिट भिसा वा इन्ट्री भिसाकोआडमा वैदेशिक रोजगार विभागको बिना स्विकृति रोजगारका लागि विदेश जाँदा पनि धेरै नेपालीहरु फर्कने गरेका छन् ।
विदेश जाँदा नेपालबाट भनेको काम नभई अर्कै पर्ने, तलब भनेजति नपाउने, बिचमै कम्पनी बन्द हुने र कामदार आफैँले काम खोज्नुपर्ने वा काम नपाए छोटो समयमै स्वदेश फर्किनुपर्ने बाध्यता समेत पछिल्लो समय मौलाउँदो रुपमा रहेको छ ।
आज ‘शनिबार’ भरतपुरमा आयोजना गरिएको ‘वैदेशिक रोजगार कानुनसम्बन्धी सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण’ कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
कार्यक्रममा बोल्दै चितवनका सांसद कृष्णभक्त पोखरेलले सरकारले विदेशजाने प्रवृत्तिलाई रोक्न नसकेपनि सरकारले विदेश पुगेका आफ्ना नागरिकलाई सुरक्षित बनाउन हर पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम मानव अधिकारका लागि जनमञ्च ‘पिपुल फोरम’को आयोजना तथा आइआरइएक्सको सहयोगमा गरिएको हो ।
पिपुल फोरमका संस्थापक एवं अधिवक्ता सोम लुइँटेलले कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गर्दै विदेशमा नेपालीहरुको श्रम शोषण तथा चेलिबेटी वेचबिखनको क्रम बढ्दै गएको बताउनुभयो ।
यस्तै, ‘पिपुल फोरम’का कार्यक्रम संयोजक तथा अधिबक्ता पुरुषोत्तम प्रजापति एवं आर्थिक अभियान दैनिकका सम्पादक रुद्र खड्काले वैदेशिक रोजगारी, कामको प्रकृति, श्रम आप्रवासन प्रक्रिया र चक्र, नेपालमा वैदेशिक रोजगारीका चुनौती, वैदेशिक रोजगारीमा संचारकर्मीहरुको भुमिका लगायतका विषयवस्तु समेटिएको प्रस्तुती राख्नुभएको थियो ।
कार्यक्रममा चितवनका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।






