१६ वैशाख, काठमाडौं ।
रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने बताएका छन् । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सांसदसमेत रहेका लामिछानले यसपटक सुकुमवासीलाई सुरक्षित स्थानमा सरल तरिकाले सारिएको बताएका हुन् ।
‘जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ । लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ,’ उनले भने, ‘कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ । ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो । देशैभरी रहेको यस्तो समस्यालाई एक बिशेष आयोग बनाएर शीघ्र काम गरिने छ।’
उनले सुकुमवासी बस्ती हटाएको विषयमा अनावश्यक राजनीतिकरण गर्न नहुने र भोट बैंकको राजनीति गर्न नहुने पनि बताए ।
‘सरकारले कसैलाई घरबारविहीन बनाउने छैन । सरकारले घरबारविहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ। सरकारले कोही सुकुमवासीहरूलाई घरबारविहीन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ,’ उनले थपे, ‘तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत हो।’










