टेक्सस फागुन १८-
अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा आइतबार बिहान एक बियर गार्डनबाहिर भएको गोलीकाण्डमा दुई सर्वसाधारणको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी मारिएसँगै कुल मृतकको संख्या तीन पुगेको छ।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले यो घटना आतंकवादसँग सम्बन्धित हुन सक्ने भन्दै गम्भीर अनुसन्धान सुरु गरेको छ। अस्टिनका प्रहरी प्रमुख लिसा डेभिसका अनुसार स्थानीय समय अनुसार बिहान २ बजे ब्युफर्ड्स बार बाहिर यो घटना भएको थियो।
एउटा ठूलो एसयूभी गाडीमा आएका बन्दुकधारीले सुरुमा गाडीको झ्यालबाट पेस्तोलले बाहिर बसिरहेका मानिसहरूमाथि गोली चलाएका थिए। त्यसपछि गाडी पार्किङ गरेर राइफलसहित पुनः बारतर्फ आउँदै गर्दा तीनजना प्रहरी अधिकारीले उनलाई बाटोमै रोकेर गोली हानी मारेका थिए। प्रहरी र उद्धार टोलीले सूचना पाएको ५७ सेकेन्डभित्रै कारबाही सुरु गरेका कारण थप क्षति हुन नपाएको दाबी गरिएको छ।
मारिएका संदिग्धको पहिचान सेनेगलमा जन्मिएका अमेरिकी नागरिक एनडियागा डियानका रूपमा गरिएको छ। अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार उनले प्रोपर्टी अफ अल्लाह (अल्लाहको सम्पत्ति) लेखिएको स्वेटसर्ट लगाएका थिए। एफबीआईको स्यान एन्टोनियो कार्यालयका प्रतिनिधि एलेक्स डोरानले संदिग्धको गाडी र शरीरमा भेटिएका केही संकेतहरूले यस घटनाको सम्बन्ध आतंकवादसँग रहेको तर्फ संकेत गरेको बताएका छन्। यद्यपि, अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले थप विवरण गोप्य राखिएको छ।
घाइते भएका १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थलमा जताततै मानिसहरू रगताम्मे अवस्थामा ढलेका थिए, जसले गर्दा त्यहाँको वातावरण अत्यन्तै त्रसित बनेको थियो। यो क्षेत्र युनिभर्सिटी अफ टेक्ससका विद्यार्थीहरूका बिचमा निकै लोकप्रिय मानिन्छ।
यस घटनाका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइसकिएको छ भने टेक्ससका गभर्नर ग्रेग एबोट र सिनेटर टेड क्रुजले यस हिंसात्मक कार्यको कडा निन्दा गरेका छन्। उनीहरूले प्रहरीको द्रुत प्रतिक्रियाको प्रशंसा गर्दै अपराधीले टेक्ससवासीको मनोबल गिराउन नसक्ने बताएका छन्।









