काठमाडौँ, १३ चैतः
खानेपानीमन्त्री प्रदीप यादवले चितवनमा निर्मित भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्ती नगरपालिकाका १६ हजार २४४ जना प्रत्यक्ष लाभान्वित हुने बताउनुभएको छ ।
आज यहाँ खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले विगतमा स्वच्छ खानेपानी अभाव हुँदा यहाँका नागरिकले दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आजदेखि खानेपानीको समस्या समाधान भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो आयोजना आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयले सञ्चालनमा ल्याएको हो । यसले राप्ती–४, ५, र ६ वडालाई सेवा प्रदान गर्नेछ । यस योजनाबाट तीन हजार २०० धुरीका १६ हजार २४४ जनालाई प्रत्यक्ष लाभ पुग्नेछ ।”
मन्त्री यादवले भन्नुभयो, “यसअघि स्वच्छ पानीको अभावका कारण यहाँका बासिन्दाको दैनिकी कष्टकर थियो ।
आजको दिनले राप्ती क्षेत्रका नागरिकको नयाँ युगको सुरूवात गरेको छ ।” सङ्घीय सरकार, उपभोक्ता समिति, स्थानीय समुदायको साझा प्रतिबद्धता सहकार्य र परिश्रमले आज यो महत्त्वपूर्ण योजना सफल भएको उहाँको भनाइ छ ।
मन्त्री यादवका अनुसार भण्डारा दोस्रो खानेपानी आयोजनाले राप्ती–४, ५, र ६ का बासिन्दालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउनेछ ।
विगतमा स्थानीयले इनार र ट्युबेलको पानी उपभोग गर्न बाध्य रहेका जनाउँदै उहाँले उक्त पानी परीक्षण गर्दा हानिकारक जीवाणुयुक्त पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने अवस्था अब अन्त्य भएको बताउनुभयो । यो योजना सम्पन्न भई सञ्चालनमा आएसँगै यहाँ २४ सै घण्टा स्वच्छ, शुद्ध र सुरक्षित खानेपानी उपलब्ध हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।











