काठमाडौँ, कात्तिक २७
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई छन् ।
यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ । जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
मानव तस्करीमा मुछिएसँगै लिलाबल्लभ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई नेकपा (एमाले)ले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।
आरोपीहरू विरुद्ध प्रहरीले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।






