काठमाडाैं जेठ १५,
विभिन्न कारागारमा रहेका ५०१ जना कैदीबन्दीले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी मिनाहाको उपहार पाएका छन् ।
माफी पाउनेमा कैलालीको टीकापुर हत्याकाण्डमा सर्वाेच्च अदालतबाट समेत दोषी ठहर भएका रेशम चौधरी समेत रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा १९ व्यक्तिलाई कैद सजाय माफी र ४८२ जना कैदीलाई सजाय माफी मिनाह गरेका छन् ।
आइतवार राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढा समेतका १९ जनालाई कैद सजाय माफी दिएका हुन् । १९ जना व्यक्तिको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी भएको हो ।
‘मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकको सिफारिसअनुसार टोपबहादुर बुढा समेतका १९ व्यक्तिहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तै राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीलाई सजाय माफी मिनाहा गरेका छन् । आइतवार राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी ४८२ कैदीलाई सजाय माफी गरेको जानकारी दिएको हो ।
‘यही जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ र ज्येष्ठ नागरिक उदयनारायण गिरी समेतका ७ जना गरी जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० का अवसरमा माफी भएको छ,’ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
माफीमिनाहा भएका कैदीबन्दी आज सोमवार गणतन्त्र दिवसका अवसरमा रिहा हुँदैछन् ।









