काठमाडौं वैशाख १५,
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । बिहान साढे ११ बजे उनको शपथग्रहणको कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले जानकारी दिए ।
प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ गराउनेछन् । रुपन्देहीको बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम हुनेछ ।
लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई ५३ प्रदेशसभा सदस्यको समर्थन छ ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि आजै शपथ लिँदै छन् । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता समेत रहेका पाण्डे पनि बिहीबारै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई ३५ प्रदेशसभा सदस्यको समर्थन छ ।
आज मध्याह्न १२ बजेर ५ मिनेटमा उनको शपथग्रहणको कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउनेछन् ।
संविधानानुसार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त र शपथ गराउने व्यवस्था छ ।
मुख्यमन्त्रीको शपथसँगै दुवै प्रदेशमा केही मन्त्रीले पनि शपथ लिने तयारी छ ।









