काठमाडाैं फागुन २४,
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला दिदीवहिनीहरुको सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गर्न अपिल गरेका छन् । अन्तर्राष्टिय महिला दिवसको अवसरमा आज बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सो अपिल गरेका हुन् ।
“महिला दिदीबहिनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा उल्लेख छ ।
मुक्ति, समानता, स्वतन्त्रताको आकांक्षासहित शुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरी प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वेदश तथा विदेशमा रहेका दिदीबहिनीहरूमा उनले शुभकामना व्यक्त गरेका छन् ।
नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “लोकतन्त्र प्राप्तिको आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलनलगायतका गौरवपूर्ण संघर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण संघर्षको जगमा नै हामीले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ ।”
जनताको वीरतापूर्ण संघर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकार दिएको चर्चा गरेका छन् । नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको बताएका छन् ।
“हाम्रो संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन, संघीय र प्रादेशिक संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने व्यवस्था गरेको छ” शुभकामना सन्देशमा उल्लेख छ ।
सम्पत्ति, कानुनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई संविधानले प्राथमिकता दिएको भन्दै उनले भनेका छन्, “लैगिंक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य हामीले स्मरण गर्नैपर्दछ ।”
महिलाविरूद्धको संरचनागत हिंसाको अन्त्य गर्दै उत्पादनका साधन र प्रक्रियामाथि महिलाको स्वामित्व कायम गर्न, महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न हाम्रा प्रयासहरू घनिभूत हुन जरूरी रहेको उनले बताएका छन् ।