चितवन, साउन ३२-
चितवनलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले राज्यका लागि बलियो मानवपुँजी निर्माण गर्न खोप प्रभावकारी रहेको भन्नुहुँदै यसको दिगोपनका लागि अझै मेहिनत गर्नुपर्ने बताउनुभयो । उहाँले खोप कार्यक्रम सफल बनाउन भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकालगायत सरोकार भएकालाई सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
माडी नगरपालिका प्रमुख ताराकाजी महतोले पूर्ण खोप सुनिश्चिततासँगै जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले खेती किसानी र ज्याला मजदुरी गर्न आउने अस्थायी बसोबासीका बालबालिका छुट्ने गरेका र माडीका विकट ठाउँमा पूर्ण खोप लगाउन चुनौती रहेको बताउनुभयो । खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले अस्थायी बसोबासी खोपबाट छुट्ने गरेकातर्फ आफ्नो नगरपालिकाले ध्यान दिइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले लागू गरेको बाआमा स्वास्थ्य कार्यक्रमअन्तर्गत तीन–तीन महिनामा स्थानीयका घरघरमा पुग्नेबेला कोही छुटको देखिए खोप लगाउने व्यवस्था मिलाउने गरिएको जानकारी दिनुभयो ।
ईच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले जिल्ल्लालाई खोप सुश्चितता घोषणा गरिएका पनि अब यसलाई निरन्तरता र दिगोपनामा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कालिका नगरपालिका सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रूपाखेतीले खोप बालबालिकाको नैसङ्र्गिक अधिकार भएकाले यसको सुनिश्चिताका लागि समन्वयात्मक ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा प्रदेशबाट प्राप्त पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र जिल्ला तथा पालिकालाई प्रदान गरिएको थियो । सहभागीले दिगोपनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।रासस