काठमाडौं,साउन २३-
बुधबार दिउँसो रसुवाको स्याफ्रुबेसीका लागि काठमाडौँबाट उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ।
शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर भन्ने ठाउँमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको निधन भएको हो। १ महिला र ४ पुरुष सवार हेलिकप्टरका सबै मृतकको शव निकालिएको र पोस्टमार्टमका लागि प्रक्रिया सुरु गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकृष्ण अधिकारीले जानकारी दिए।
हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए। उनीबाहेक सवार अन्य सबै चिनियाँ नागरिक हुन्। पाइलट मल्ल ३० वर्षदेखि हेलिकप्टर उडाइरहेका अनुभवी पाइलट थिए। उनले कर्णाली एयरको हेलिकप्टरबाट उडान थालेका हुन्। मल्ल काठमाडौंकै स्थानीय हुन्। उनको परिवारमा श्रीमती र दुई छोरी छन्।







