आकांक्षा पोखरेल-
चितवन, ६ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले भरतपुरको चौबिसकोटीमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । पार्टीको दोस्रो स्थापना दिवसको अवसर पारेर असार ७ गते (भोलि ) रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला सभापति कृष्ण प्रसाद भुसालले जानकारी दिए ।
सभापति भुसालका अनुसार “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको हो । रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको सभापति भुसालले बताए । रक्तदान कार्यक्रम बिहान ६:३० बजेबाट सुरु हुनेछ ।
त्यस्तै रास्वपा चितवनले सोहि समयमा पार्टी स्थापना दिवसको शुभकामना तथा चियापान कार्यक्रम पनि राखेको छ भने बेलुका ६:३० बजे दिप प्रज्वलन कार्यक्रम राखेको छ ।
रक्तदान, शुभकामना आदानप्रदान र दिप प्रज्वलन कार्यक्रममा पार्टीका नेताहरु ,पदाधिकारीहरु, सदस्यहरु, शुभचिन्तकहरु लगायतको उपस्थिति रहने रास्वपा चितवनले जनाएको छ । साथै चितवनका ७ वटै पालिका र पालिकाभित्रका वडा कमिटीहरुको पनि बाक्लो उपस्थिति रहने छ ।
खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न सबैलाई रास्वपा चितवनले आग्रह गरेको छ ।
रास्वपाले देशभर सप्ताव्यापी रुपमा रक्तदान, सरसफाई, वृक्षारोपण, मैत्रीपूर्ण खेलकुद लगायत विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाइरहेको छ ।