काठमाडाैं माघ २
नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्जवल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खड्कालाई सोमवार अर्घाखाँचीमा पार्टीमा स्वागत गरेका हुन् ।
नेकपा एमालेका सांसद टाेपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि पूर्व राष्ट्रिय सभा सदस्यसमेत रहेका खड्का फेरि माओवादीमै फर्किएका हुन् ।
माओवादी केन्द्र अर्घाखाँचीका इन्चार्ज ठाकुर विकले खड्कासहित एमाले, कांग्रेस र विप्लव नेतृत्वका पार्टीबाट दर्जनौं कार्यकर्ताहरू माओवादीमा प्रवेश गरेको बताए । ‘खड्का पहिला माओवादी अर्घाखाँचीको इन्चार्ज हुनुहुन्थ्यो’, विकले भने, ‘केही समय एमालेमा जानुभयो । फेरि मूल घरमै फर्किनुभयो ।’
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटनपछि प्रचण्ड माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा सहभागी भएका हुन् ।