काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूलाई गैरकानुनीरूपमा नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुर र भक्तपुर प्रहरीले नजरबन्दमा राखेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।
रिटमा नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्र, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने व्यवस्था र सरकारले गरेका कामकारबाहीको शान्तिपूर्ण विरोध गर्न पाउने व्यवस्थालाई नै चुनौती दिइएको भन्दै तत्काल रिहा गरी आन्दोलन र अभियानमा पनि रोक नलगाउन माग गरिएको छ । रिटको पेसी आइतबारलाई तोकिएको छ ।
प्रसाईंले शुक्रबार काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने बताएका थिए। तर प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् ।