काठमाडौं, कात्तिक १२
नेकपा एमालेका नेताहरू सवार गाडी काभ्रेमा दुर्घटना भएको छ।
दुर्घटनामा परेर एमाले नेता नवीना लामा पनि घाइते भएकी छन्। उनको टाउको र बायाँ हातमा चोट लागेको छ। ब्रेक फेल भई गाडी सडकमै पल्टेको थियो।
बेथानचोक गाउँपालिका वडा नम्बर १ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आइतबार दिउँसो २ बजे ब्रेक फेल भई गाडी दुर्घटनामा परेको हो।
गाडीमा १८ जना सवार थिए। तीमध्ये ११ जना घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर स्याङ्जा पुतलीबजार ५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका छोरा १३ वर्षीय सुवम् श्रेष्ठ, अर्का ५ वर्षीय छोरा सुरज श्रेष्ठ पनि घाइते छन्।