काठमाडौं असोज २५,
एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ ।
बिहीबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै समेटियो ।
इरानलाई सस्तैमा समेट्ने क्रममा नेपालका शुवास भण्डारी र दिपेश कँडेलले तीन/तीन विकेट लिए । यस्तै हेमन्त धामी र आकाश चन्दले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो ।
नेपालका लागि कप्तान देव खनालले सानदार शतक प्रहार गरे । उनी शतक हानेलगत्तै आउट भएका थिए । यस्तै नेपालका लागि दीपक डुम्रेले ६९ रन बनाए भने दीपक बोहराले ६५ रन बनाए । हेमन्त धामीले २३ र सुवास भण्डारीले १८ रन बनाए । यस्तै आकाश चन्दले १९ रन बनाए ।
इरानका लागि ड्याड्रम्या रैइसी र सलमान निज्मतले तीन/तीन विकेट लिए ।
प्रिमियर कपमा एसियाका १६ एशोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ ।
शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् ।