काठमाडौं असोज २३,
नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।
राप्रपाको सहयोग लिएर थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । ‘कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कुरा भएको छ । सबै पदाधिकारी साथीहरुले सभापतिलाई त्यही सुझाव दिनु भएको छ ।’ विश्वकर्माले भने ।
उनका अनुसार थापाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र मतभेद छैन ।
सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर कोशीमा फेरि कांग्रेस नेतृत्वमै सरकार बनाउनुपर्ने विषयमा कुराकानी गर्ने तयारी गरेका छन्।