संखुवासभा, साउन २७
संखुवासभा कारागारमा दुई जना कैदीको मृत्यु प्रकरणमा मृतकका आफन्तले कारागार प्रमुख र सुरक्षाकर्मी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायत अन्य सुरक्षाकर्मीहरूका विरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय संखुवासभामा शनिवार उजुरी दर्ता गराएका हुन् ।
दुवै मृतकका परिवार सदस्यलाई एड्भोकेसी फोरम–नेपालका अधिवक्ता कुमारप्रसाद थपलियाले जाहेरी दरखास्त तयार पार्न कानूनी सहयोग गरेका हुन् ।
जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको बुधवार बिहान कुटपिटबाट मृत्यु भएको थियो । निर्घात कुटपिटबाट मृत्यु भएका कैदीहरू संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी हुन् ।
मृतक कैदीहरूको शव परीक्षण शनिवार गरिने प्रमुख जिल्ला अधिकारी शिव कार्कीले जानकारी दिएका छन् ।
घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।









