विराटनगर, साउन २३
लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेर यो वर्षको उच्च तहमा पुगेको छ ।
मंगलवार साँझ ५ बजेको मापनअनुसार प्रतिसेकेन्ड २ लाख ११ हजार ७६० क्युसेक बहाव रहेको कोशी ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । कोशीमा बहाव अझ बढ्ने सम्भावना रहेको जनाइएको छ ।
कोशी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार ५६ वटा ढोकामध्ये २७ वटा खोलिएको छ । तर अहिलेसम्म रातो झन्डा भने राखिएको छैन ।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काटेपछि खतरा मानिन्छ । सप्तकोशी सबैभन्दा बढी १९६८ सालमा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो ।
सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्युसेक पुगेको थियो । कोशी ब्यारेज बन्दा शुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ ।
पछिल्लो समय कोशी ब्यारेज भन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ ।






