काठमाडाैं साउन २२,
काठमाडौं उपत्यकाको बागमती नदीसहित पूर्वी राप्ती र कमलाका केही स-साना सहायक नदीमा बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी नदीमा जलसहत सतर्कता तहसम्म पुग्नसक्ने पूर्वानुमान छ ।
यस्तै, मधेश प्रदेशका स–साना नदीमा पनि जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ । महाकाली नदीमा जलसतह सामान्य घटबढ भए पनि सतर्कता तह आसपास हुने महाशाखाले जनाएको छ ।
आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ । यद्यपि, बढ्दो क्रममा रहने महाशाखाको पूर्वानुमान छ ।
आज सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुली, चितवन, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) आसपास भई बहने केही स-साना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहेको छ । यी क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
देशका धेरै ठाउँमा गए रातिदेखि नै पानी परिरहेको छ । नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले धेरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।







