काठमाडाैं बैशाख ३०,
नेकपा एमालेले पछिल्लो समय देश विभिन्न संकटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने बताएको छ ।
दुई दिन चलेको केन्द्रीय कमिटी बैठकले विशेष प्रस्ताव पारित गर्दै देश राजनीतिक, आर्थिक, सामाजिक संकटतर्फ उन्मुख भएको भन्दै एमालेले प्रमुख दलबीच न्यूनतम समझदारीको अपिल गरेको हो ।
‘मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा सङ्कटतर्फ उन्मुख हुँदै गएको छ । भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदैछ । राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको छ । अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोज्दैछन्’ एमालेद्वारा पारित विशेष प्रस्तावमा भनिएको छ, ‘यस्तो अवस्थामा राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न, राजनीतिक क्षेत्रमा देखा परेको अस्थिरताका प्रवृत्तिहरूलाई नियन्त्रण गर्दै स्थायित्व र स्थिरता कायम गर्न र सामाजिक क्षेत्रमा हुर्किँदै गएको अराजकतालाई नियन्त्रण गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच न्यूनतम समझदारी बन्नु आवश्यक छ । केन्द्रीय कमिटीको यो बैठक यिनै उद्देश्यका साथ राष्ट्रिय राजनीतिक दलहरूका बीचमा समझदारी निर्माणका लागि पहलकदमी लिने निर्णय गर्दछ ।’
बैठकले १६ बुँदे अन्य प्रस्ताव पारित पनि गरेको छ । जसमा शरणार्थी प्रकरणको निष्पक्ष छानबिन, माओवादी शिविरमा भएको घोटालाको अनुसन्धानसहितको माग गरिएको छ ।










