काठमाडौं, वैशाख १९
दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ।
मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
हिमपहिरोले १२ जना पुरिएका थिए। जसमध्ये ६ जना पुरूष र एक जनाको सकुशल उद्धार भएको डिएसपी थापाले बताए।
अझै चार महिला र एक पुरूष बेपत्ता छन्। लगातार परेको पानी र हिउँका कारण उद्धारको काम गर्न कठिन भइरहेको उनले बताए।
‘लगातार पानी र हिउँ परिरहेको छ। मौसम खराब भएका कारणले बेपत्ताको खोजी हुन सकेन,’ उनले भने, ‘सम्भव भएसम्म भोलि बिहानैदेखि खोजी तथा उद्धारको काम सुरू हुन्छ।’
उनीहरू यार्सागुम्बा खोज्न हिँडेका थिए। त्रिपालमा बसिरहेको बेलामा हिमपहिरोले उनीहरूलाई पुरेको हो।
बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलमा खटिएको थियो।
हिमपहिरो गएको स्थानमा भेटिएका अन्य १३ जना पनि सशस्त्र प्रहरी बलको टोलीसँग फर्किएको डिएसपी थापाले बताए। उनीहरू भने हिमपहिरोमा पुरेका थिएनन्।










