चितवन, माघ १२-
जिल्लामा सुन्तलाखेती गर्दै आएका किसानले रु नौ करोड १० लाख बराबरको सुन्तला बिक्री गरेका छन् । कृषि विकास कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ का किसानले सो रकम बराबरको सुन्तला बिक्री गरेका हुन् ।
कार्यालयका अर्थविज्ञ निर्मलकुमार पौडेलका अनुसार यस वर्ष जिल्लामा एक हजार दुई दशमलव आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा ९२ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ आर्थिक बर्ष २०८०/८१ मा एक हजार ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
पुराना बिरुवाको वृद्धावस्था, सुन्तला बगैँचा व्यवस्थापनमा कम चासो हुँदा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेमौसमी वर्षा वा खडेरी, रोग किराको समस्या, उचित मलजलको कमीका कारण सुन्तला उत्पादनमा कमी आएको हो । सुन्तालको बोटमा फल लाग्न नदिने सिट्रस ग्रिनिङ रोगको समस्या, सिजनमा मल र बोटका हेरचाहमा ढिलाइ र बजारमा मूल्य अस्थिरता हुँदा किसानमा चुनौती थपिएको उहाँले बताउनुभयो ।
सुन्तला उत्पादनका दृष्टिले प्रचुर सम्भावना भएको इच्छाकामना गाउँपालिकामा वैज्ञानिक प्रविधि र प्राविधिकको सहयोगबाट उत्पादन वृद्धि गर्नतर्फ लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । यहाँको सुन्ताल नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ, पोखरालगायत सहरहरूमा बिक्री हुँदै आएको छ । रासस







