गैँडाकोट, ८ माघ-
गैँडाकोटमा जारी चौथो गैँडाकोट महोत्सव अन्तर्गत बिहीबार चर्चित कलाकार पशुपति शर्मा र दुर्गा सापकोटाले प्रत्यक्ष दोहोरी गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका छन् ।
गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी महोत्सवमा पशुपति र दुर्गाले दोहोरी गाएर दर्शकहरुलाई भरतपुर मनोरञ्जन प्रदान गरेका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । उनीहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेपछि साँझ दोहोरी गाएका लम्सालको भनाइ छ । त्यस्तै बिहीबारको कार्यक्रममा शुष्मा शाही ठकुरीसहित स्थानीय कलाकारहरुले समेत प्रस्तुती राखेका लम्सालले बताए ।
महोत्सवको बिहीबार एघार हजार बढी दर्शकले अवलोकन गरेका महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । पुस २५ गते सुरु भएको महोत्सव माघ १० गतेसम्म जारी रहने भन्दै सापकोटाले महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने बताए ।
कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानसहित २५० बढी स्टल रहेको महोत्सवमा २५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको सापकोटाले बताए । संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको कँडेलको भनाइ छ ।
विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत शुक्रबार चर्चित लोकदोहोरी गायक पुष्कल शर्मासहितका कलाकारको प्रस्तुती रहने जनाइएको छ । शुक्रबार शर्मासँगै कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायतको प्रस्तुती रहने लम्सालले बताए ।






