चितवन, माघ ०८
माघ ९ बाट सरेको जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुल अब फागुन १ गते प्रदर्शन हुने भएको छ । चलचित्रको निर्माण पक्षले शिवरात्रीलाई मध्यनजर गर्दै फागुन १ गतेलाई नयाँ प्रदर्शन मिति तय गरेको हो ।
यस अघि उक्त चलचित्र माघ ९ मा प्रदर्शन हुने भनिएको थियो । तर विशेष कारण देखाउँदै निर्माण पक्षले चलचित्र प्रदर्शनको मिति सारेको हो । चलचित्रका लेखक तथा निर्माता दिनेश कोइरालाले प्राविधिक कारणले माघ ९ बाट फागुन १ गतेलाई प्रदर्शन मिति सारिएको जानकारी दिए ।
चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ । पहिले नै तिनै बिषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ ।
बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको निर्माता तथा लेखक कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको छ । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको निर्देशक रमेश कोइरालाको दाबी छ ।
कल्पना पौडेलको प्रस्तुति तथा म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।






