काठमाडौँ, ८ पुस –
व्यस्त जीवनशैली, लामो समयसम्म एकै ठाउँमा बसेर गरिने काम र शारीरिक व्यायामको कमीले गर्दा शरीर कसिने वा अक्कडिने समस्या अचेल आम बनेको छ। विशेषगरी जाडो मौसममा यो समस्या अझ बढ्छ, जसले हिँडडुलमा असजिलो गराउनुका साथै मानसिक तनाव समेत बढाउँछ।
यस्तो अवस्थामा शरीरलाई स्फूर्त राख्न र मांसपेसीको लचकता बढाउन योग एक प्राकृतिक र प्रभावकारी विकल्प हुन सक्छ। दैनिक रूपमा केही विशेष योगासनहरूको अभ्यास गरेर शरीरको कसिलोपन हटाउन र लचकता कायम राख्न सकिन्छ।
मेरुदण्डलाई लचिलो बनाउन र ढाडको कसिलोपन हटाउन भुजङ्गासनु निकै उपयोगी मानिन्छ। पेटको बलले सुतेर छातीलाई बिस्तारै माथि उठाउँदा यसले ढाड, गर्धन र काँधका मांसपेसीलाई तन्काएर आराम दिन्छ।
त्यस्तै, मानसिक तनाव कम गर्न र तिघ्रा एवं कम्मरको कसिलोपन हटाउन बालासनु रामबाण मानिन्छ। घुँडा टेकेर अगाडि झुक्दै निधारले भुईँ छुने यो आसनले स्नायु प्रणालीलाई शान्त पार्नुका साथै पूरै शरीरलाई विश्राम प्रदान गर्छ।
मेरुदण्डको स्वास्थ्यका लागि मार्जरीआसनु अर्को उत्कृष्ट अभ्यास हो, जसले श्वासप्रश्वाससँगै ढाडलाई चलायमान बनाउँदा पाचन प्रणालीलाई समेत सक्रिय राख्न मद्दत गर्छ।
शरीरको तल्लो भाग र खुट्टाको लचकताका लागि पश्चिमोत्तानासनु प्रभावकारी हुन्छ। दुवै खुट्टा अगाडि फैलाएर बसेर अगाडि झुक्ने यो अभ्यासले मेरुदण्डलाई लामो बनाउनुका साथै ढाडको तल्लो भागको दुखाइ र कसिलोपन कम गर्छ।
अन्त्यमा, पद्मासनु को नियमित अभ्यासले कम्मर र घुँडाका जोर्नीहरूलाई लचिलो बनाउँछ। सीधा बसेर गहिरो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्दा यसले शरीरलाई ऊर्जावान् बनाउनुका साथै एकाग्रता समेत बढाउँछ।
यी आसनहरूलाई दैनिक बिहानीको तालिकामा समावेश गर्दा शरीर सधैँ स्वस्थ र फुर्तिलो रहन्छ।-एजेन्सीको सहयोगमा






