चितवन , २१ कात्तिक
पार्टीको आगामी कार्यदिशा र चुनावी रणनीति तय गर्न चितवनको सौराहामा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ । बैठकमा आगामी निर्वाचन रणनीति, पार्टी सङ्गठन विस्तार, पार्टीको विचार सिद्धान्तको बारेमा थप स्पष्ट गर्नेबारे छलफल हुनेछ ।
रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले वैधानिकता, एजेन्डा र अपेक्षित परिणामबारे बैठकमा विस्तृत छलफल हुने बताए । उपसभापति वाग्लेका अनुसार पार्टीको विधानले पहिलो महाधिवेशन नहुन्जेलसम्मको सङ्क्रमणकालीन अवस्थामा केन्द्रीय समितिलाई विशेष अधिकार दिएको छ। सोही अधिकार प्रयोग गर्दै र फराकिलो दायरामा छलफल गर्न केन्द्रीय समितिले यो विस्तारित बैठक आयोजना गरेको गरिएको उनले बताए ।
‘यो बैठक कर्तव्य बोध र उदारताका साथ आयोजना गरिएको हो ।’ विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो ६० जनाको सामूहिक विवेकभन्दा पनि अझ फराकिलो ढङ्गले राय, विमर्श र चिन्तन गरौँ भन्ने उद्देश्य हो।’
डा. वाग्लेले बैठकमा मुख्यतया पाँचवटा प्रस्तावमाथि घनिभूत छलफल हुने जानकारी दिए । बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको वर्तमान राजनीतिक अवस्था, सुशासनको पक्षमा भएका हस्तक्षेप र आगामी रोडम्याप समेटिएको प्रतिवेदन पेस गर्नेछन् भने महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको वर्तमान साङ्गठनिक स्वरूपको समीक्षा र सुधारका प्रस्तावहरू प्रस्तुत गर्नेछन्।
सभापति रवि लामिछानेविरुद्ध भएको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध चलाइएको हस्ताक्षर अभियानको प्रगति र त्यसबाट प्राप्त जनसमर्थनबारे संयोजकले प्रतिवेदन पेस हुने उपसभापति डा. वाग्लेले बताए । आगामी संघीय निर्वाचनलाई लक्षित गरी तयार पारिने वाचापत्रको प्रारम्भिक खाका र मोडालिटी उपसभापति डा. स्वर्णिम वाग्ले आफैँले प्रस्तुत गर्नेछन् । बैठकले निर्वाचनका लागि उमेदवार छनोटको विधि र प्रक्रियाबारे सहमहामन्त्रीले प्रस्ताव पेस गर्नेछन्।
डा. वाग्लेले यो बैठकले पार्टीलाई २१ सिटबाट बहुमतको लक्ष्यतर्फ अघि बढाउन बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, बैठकमा उठेका राय, सुझावहरूलाई वैज्ञानिक र लोकतान्त्रिक ढङ्गले सङ्कलन गरी पार्टीको रणनीति परिमार्जन गरिनेछ। हाल देश असामान्य राजनीतिक र संवैधानिक अवस्थाबाट गुज्रिरहेको र विभिन्न शक्तिबिच ध्रुवीकरण चलिरहेको सन्दर्भमा रास्वपाले वैकल्पिक शक्तिको अगुवाइ गर्नेबारे पनि बैठकमा छलफल हुनेछ। बैठकको अन्त्यमा ‘चितवन घोषणापत्र’ जारी गर्ने प्रारम्भिक लक्ष्य रहेको पनि डा. वाग्लेले बताए ।
‘न्याय र एकताको सन्देश दिँदै हामी एकढिक्का छौँ । रास्वपा नै मुलुकको नयाँ, सशक्त र जिम्मेवार शक्ति हो भन्ने सन्देश दिनेछौँ ।’ उनले भने ।














