काठमाडौँ ०५ असोज
नेपाल प्रहरीले हाल देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी गराएको छ।
आज बिहान ९ बजेसम्मको तथ्यांकअनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन्।
सङ्खुवासभामा अविरल वर्षाका कारण मकालु गाउँपालिका–३ एकुवा र भोजपुर गाउँपालिका– ४ वरुण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
यता रसुवामा पहिरोका कारण नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका– २ सडक खण्ड अवरुद्ध भएको छ। सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण भोटेकोशी गाउँपालिका– २ कोदारी मा सडक अवरुद्ध भएको छ ।
त्यस्तै चितवनको इच्छाकामना–५ तुइनखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध छ।
यता बागलुङमा पहिरोका कारण कालीखोला सडक खण्ड एकतर्फी सुधार गरिरहेको छ। नवलपरासी पूर्वमा पहिरोका कारण विन्ध्यावासिनी–२ विश्वकर्मा मन्दिर सडक खण्ड पनि एकतर्फी सुधार गरेर सञ्चालनमा ल्याएको छ ।
रुकुम पूर्वमा पहिरोका कारण भुमे–८ कोइडाबगर सडक खण्ड एकतर्फी भएको छ भने जाजरकोटमा पहिरोका कारण नलगाड–११ भिरकुना सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
यी सडक खण्डहरू प्रयोग गर्दा विशेष सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।