काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्, जसले हालको कुल ट्यारिफ दर ५० प्रतिशत पुर्याएको छ । यो कुनै पनि देशमाथि लगाइएको सबैभन्दा उच्च दर हो, र भारत-अमेरिका सम्बन्ध पछिल्ला वर्षहरूमा सबैभन्दा तनावपूर्ण चरणमा पुगेको संकेतस्वरूप देखिएको छ ।
ह्वाइट हाउसद्वारा बुधबार जारी कार्यकारी आदेशअनुसार यो ट्यारिफ २१ दिनपछि लागू हुनेछ। ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेल आयात गरिरहेको भन्दै उक्त निर्णय लिएको हो ।
‘अनुचित र तर्कहीन निर्णय’-भारतको कडा प्रतिक्रिया
भारतको विदेश मन्त्रालयले अमेरिकाको यो कदमप्रति कडा असन्तुष्टि जनाउँदै भनेको छ, ‘यो निर्णय अनुचित, अकारण र तर्कहीन छ। भारत ऊर्जा सुरक्षाका लागि बजारको अवस्थाअनुसार निर्णय लिन्छ र यस्तो भेदभावपूर्ण व्यवहार अस्वीकार्य छ।’
भारतले थप स्पष्ट पारेको छ कि यस्तै तेल आयात नीति अन्य देशहरूले पनि अपनाएका छन्, तर अमेरिका एकतर्फी रूपमा भारतमाथि मात्र दबाब सिर्जना गरिरहेको छ ।
भारतभित्रै चर्किंदै राजनीतिक बहस
अमेरिकाको यो कदम सार्वजनिक भएपछि भारतमा राजनीतिक प्रतिक्रियाहरू तीव्र बनेका छन् । कांग्रेसले प्रधानमन्त्री मोदीप्रति लक्षित गर्दै लेखेको छ, ‘मोदीका मित्र ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाए, तर मोदी मौन छन्। प्रधानमन्त्री, ट्रम्पलाई जवाफ दिन हिम्मत गर्नुहोस्।’
कांग्रेस नेता राहुल गान्धीले यस निर्णयलाई ‘आर्थिक ब्ल्याकमेल’ को संज्ञा दिँदै भनेका छन्, ‘यो कदम भारतलाई अनुचित व्यापार सम्झौताका लागि धम्क्याउने प्रयास हो। प्रधानमन्त्रीले आफ्नो कमजोरी जनताको हितभन्दा अगाडि राख्नु हुँदैन ।’
सम्बन्ध चिसिंदै, वार्ताको सम्भावना अन्योलमा
एशिया प्यासिफिक फाउन्डेसन अफ क्यानडाकी उपाध्यक्ष वीना नजिबुल्लाले भनेकी छन्, ‘भारत-अमेरिका सम्बन्ध पछिल्ला वर्षमा यति कमजोर अवस्थामा कहिल्यै पुगेको थिएन। अब विश्वास पुनःस्थापना गर्न दुवै पक्षले यथार्थपरक समाधान खोज्नुपर्नेछ।’
अघिल्लो वर्ष मात्र भारत-अमेरिकाबीच करिब २१२ अर्ब डलरको व्यापार भएको थियो, जसमा भारतको पक्षमा ४६ अर्ब डलरको व्यापार घाटा थियो । प्रधानमन्त्री मोदीले आगामी पाँच वर्षमा व्यापार दुई गुणा अर्थात् ५०० अर्ब डलर पुर्याउने लक्ष्य लिएको बताएका थिए ।
तर पछिल्लो समय रुसी तेल, हातहतियार किनमेल, कृषि उत्पादनमा ट्यारिफ छुट जस्ता मुद्दामा दुबै देशबीच मतभेद चर्किएको छ। ट्रम्पले हालै सार्वजनिक रूपमा भारतलाई ‘मृत अर्थतन्त्र’ भन्दै आक्रोश पोखेपछि परिस्थिति अझै संवेदनशील बनेको हो ।
‘भारत कमजोर देखिन चाहँदैन’
फार्वा आमरले भनिन्, ‘भारतले विश्वव्यापी प्रतिष्ठा बनाएको छ, र प्रधानमन्त्री मोदीले पनि त्यस्तो छवि निर्माण गरेका छन्। त्यसैले उनीहरू आफ्नो परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको सवालमा दबाबमा नझुक्ने रणनीति अवलम्बन गर्छन् ।’
दुबै पक्षबाट कूटनीतिक पहल आवश्यक
अन्तर्राष्ट्रिय व्यापार विज्ञ रोबर्ट रोगोव्स्कीले निकट भविष्यमा भारत र अमेरिकाबीच सम्बन्ध सुधार गर्न ‘सृजनात्मक कूटनीति’ को आवश्यकता पर्ने बताए । उनले भने, ’यस्तो संवेदनशील अवस्थाबाट सम्बन्धलाई नयाँ दिशातर्फ लैजान गम्भीर प्रयासहरू चाहिन्छ।’