काठमाडौं,असार २४-
बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएपछि नेपाल-चीन सम्पर्क टुटेको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा रहेका सयौँ गाडी पनि बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार भन्सार जाँचपासका लागि राखिएका इभी गाडीहरू बगाएको छ ।
पुल बगाएपछि चीनसँगको सम्पर्क टुटेको छ । बाढीमा फेसकाहरूको उद्धार भइसकेको छ, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ड्राइपोर्टमा राखिएका सवारीसाधन सबै बगाएको छ । उनका अनुसार ड्राइपोर्टमा कति संख्यामा गाडी थिए भन्ने खुल्न नसकेको बताए । उद्वारमा खटिएका ११ जना प्रहरीको टोली नै बाढीमा फसेका छन् । उनीहरूको हेलिकोप्टरमार्फत उद्धारका लागि नेपाली सेनालाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।