भनिन्छ, रोयो भने मन हलुको हुन्छ । रुनु एउटा प्राकृतिक कुरा हो । जुन जन्मदेखि नै सुरु भएर मृत्युसम्म रहन्छ । हाँसोका धेरै फाइदा छन् भने रुवाइका पनि धेरै फाइदा रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् ।
धक फुकाएर रोयो भने मन हलुको हुनुका साथै पीडा पनि कम हुन्छ । तर हाम्रो समाजमा रुनुलाई नकारात्मक भावको रूपमा हेरिन्छ । रुँदा स्वास्थ्यमा कुनै पनि असर नगर्ने चिकित्सकहरू बताउँछन् ।
रुँदाखेरि बग्ने आँशुले आँखाको दृष्टि क्षमतामा सुधार ल्याउँछ । कहिलेकाहीँ आँखामा डिहाइड्रेसन हुँदा दृष्टि धमिलो हुन्छ । त्यस्तो बेलामा आँशुले आँखाको झिल्लीमा पानीको पर्याप्तता सिर्जना गर्छ र हामीले प्रष्ट देख्न सक्छौँ ।
आँशुले आँखालाई सफा गर्न समेत मद्दत गर्छ । आँखामा विभिन्न खाले जिवाणु रहेका हुन सक्छन् । आँशुमा हुने जिवाणु प्रतिरोधी तत्वले जिवाणु नष्ट गरिदिन्छ । आँशुमा जिवाणु नाशक लाइसोजोम नामक तत्व हुन्छ । रुनाले तनावबाट धेरै हदसम्म मुक्ति मिल्छ, चाहे त्यो क्षणिक नै किन नहोस् । मानिसको भावनात्मक आँशुले सरीरमा तनाव सिर्जना गर्ने हर्मोनको उत्सर्जन कम गर्छ ।
सामान्य आँशुमा ९८ प्रतिशत पानी हुन्छ । तर भावनात्मक आँशुमा तनावको हर्मोन समेत मिसिएको हुन्छ । आँशुमा केही विषाक्त पदार्थ पनि हुन्छन् । त्यसैले आँखाबाट आँशु निस्कँदा शरीरभित्र रहेका त्यस्ता विषाक्त पदार्थ समेत निष्कासन गर्न सहयोग पुग्छ । आँखामा जलन भएको बेला आँशु बग्यो भने जलन कम हुन्छ ।
नियमित रुपमा रुने बानीले उच्च रक्तचाप, मोटोपन तथा मधुमेह जस्ता समस्यासँग जुध्ने क्षमता बढ्ने विज्ञहरु बताउँछन् । निकै तनाव तथा दुखपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा धक फुकाएर रुनाले शान्ति मिल्छ र पीडामा मलहम लागेको महसुस हुन्छ । त्यसैले अब लुकेर होइन मज्जाले देखाएरै रुनुहोस् । रुनु कमजोरीको प्रतिक होइन स्वास्थ्य लाभ गर्ने तरिका पनि हो ।
रुँदा हुने १० फाइदाहरू
१. आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैन । आँखाको नानी सुख्खा हुँदा दृष्टिको समस्या हुन सक्छ ।
२. रुँदा कोर्टिसोल नामक तनाव हार्मोनबाट छुटकारा पाइन्छ ।
३. चिकित्सकका अनुसार रुनाले मानसिक तनाव, उच्च रक्तचाप, फिस्टुलालगायतका रोगबाट छुटकारा पाउन सकिन्छ ।
४. आँखा दुख्ने, पोल्ने समस्या भएको बेला आँसु बग्यो भने सहज हुन्छ ।
५. रुँदा रिस कम हुने गर्छ ।
६. रुँदा प्रतिरोधी क्षमतामा सकारात्मक प्रभाव पर्ने ।
७. आशु आउँदा आँखाभित्र भएका कीटाणु आँसुको माध्यमबाट बाहिर निस्किन्छन् ।
८. आँखाको शक्ति बढ्ने गर्छ ।
९. रुँदा विषाक्त पदार्थ बाहिर निस्किन्छ ।
१०. आँसुले आँखा पखाल्नुका साथै आइबल र आइलिड सफा गर्ने काम गर्छ ।