काठमाडौँ, पुस ६ –
नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि नेपाली युवामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको हो ।
साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले मङ्कीपक्स पुष्टि भएका तनहुँका ती युवाको अवस्था सामान्य रहेको बताउनुभयो । साउदीबाट फर्किएका युवा मङ्कीपक्सको लक्षण देखिएपछि टोखास्थित ग्रान्डी अस्पताल पुग्नुभएको थियो । अस्पतालले मङ्कीपक्सको आशङ्का लागेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गरेको थियो । टेकु अस्पतालले छुट्टै आइसोलेसनमा राखेर टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न नमुना पठाएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। यदुचन्द्र घिमिरेले मङ्कीपक्स पुष्टि गर्दै सरकारले त्यसलाई नियन्त्रणको प्रयास गरिरहेको बताउनुभयो । उहाँले हालै साउदी अरबबाट फर्किएका करिब ३६ वर्षीय युवामा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताउनुभयो । यसअघि २०८० असारमा विदेशबाट आएकी एक जना ६० वर्षीय विदेशी महिलामा मङ्कीपक्सको सङ्क्रमण देखिएको थियो ।