विराटनगर साउन २९,
विराटनगरको मुख्य बजारमा एक युवामाथि तरबार प्रहार भएको छ । सोमवार दिउँसो उनीमाथि तरबार प्रहार भएको हो ।
तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विराटनगरको सन्सारीमाई स्थानमा उनीमाथि दिउँसो २:४५ बजेतिर तरबार प्रहार गरिएको प्रहरीले जनाएको छ । हलिमको दुवै हातमा गहिरो चोट लागेको छ ।
उपचारका लागि शुरूमा न्यूरो अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । चिन्ताजनक अवस्थाका उनलाई न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरेको छ ।
हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायत तीन जनाले तरबार हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्नहरू फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए । घटनामा संलग्नहरू तरबार फालेर भागेको प्रहरीको भनाइ छ ।






