काठमाडौं, २७ साउन
सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली गैलिन र लिओ लिउ फुयान रिहा भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।
अनुसन्धानका क्रममा उनीहरूलाई थुनामा राख्नुपर्ने कारण नदेखिएकाले छोडिएको उनले बताए ।
शुक्रवार बिहान अध्यागमन विभागले उनीहरूलाई चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई सिनामंगल पुगेको करीब १०० किलोग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । अनुसन्धानको १८ दिनपछि विभागले थप छानबिनका लागि घटनालाई प्रहरीको जिम्मा लगाएको थियो ।
अनुसन्धानका लागि दोलखाको मेलुङ गाउँपालिका–३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जीक्वाङ लिन, राजन श्रेष्ठ, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (विमानस्थल भन्सार कार्यालय) कुमार ढकाल, नायब सुब्बा (भन्सारमा एक्सरे हेर्ने) सरोज श्रेष्ठ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप) सुरेन्द्र तामाङ र बेल्जियम नागरिक दावा छिरिङ प्रहरी हिरासतमा छन् ।






