बाग्लुङ, साउन २६
३४ करोड रुपैयाँ खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन ६ पटकसम्म फुस्कियो । कंक्रिटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर कंक्रिटको पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त्रुटि रहेको पाइएको छ ।
५ वर्षअघिदेखि शुरू भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारवासीले सहज ढंगले खानेपानी पाइने भयो भन्ने आशामा थिए तर भौगोलिक अवस्थाका कारण परीक्षणका लागि काठेखोलाको पानी लिफ्टमार्फत तान्दा विभिन्न ६ स्थानमा पाइप फुस्किएको छ ।
परीक्षण नै असफल भएपछि अहिले खानेपानीको पाइप लाइनको विषयमा विज्ञ समूहले अध्ययन गरिरहेको पाइएको छ ।
पटक–पटक म्याद थपेर सम्पन्नताको चरणमा पुगेको खानेपानी आयोजनाको पाइप फुस्किने समस्याले आयोजनाको पाइप लाइनको डिजाइनमै समस्या देखिएको छ । खानेपानी आयोजनाको पाइप लाइनको डिजाइनमा अहिले राखिएको पाइप उपयुक्त नभएको भन्दै आफूले पटक–पटक आवाज उठाउँदा समेत सुनुवाइ नभएको स्थानीय रुद्र महतले बताए ।
आयोजनामा अहिले डीआई पाइप प्रयोग गरिएको छ, जुन पानी तान्ने क्रममा पटक–पटक वासरबाट कंक्रिटको पोलसहित फुस्केको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ । बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलाम पोखरीबाट २५० मिटरमाथि रातामाटामा पुर्याउने गरी आयोजना अन्तिम चरणमा पुगे पनि पाइप लाइनमा त्रुटि देखिँदा आयोजना थप अन्योल बनेको छ ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले निरन्तर पहिरो खसिरहने भूगोलमा डीआई पाइप उपयुक्त नहुने उल्लेख गर्दै पाइप खरिद गर्नुभन्दा पहिला खानेपानी तथा ढल विभागमै पत्र पठाएको बताए । हाल खानेपानी ल्याइरहेको मुहानको खानेपानीमा समेत पाइप पटक–पटक फुस्केर दुःख दिइराखेको अनुभव रहेको र लिफ्ट आयोजनाको पाइप परिवर्तन नभए मर्मतसम्भार गर्न समेत पछि समस्या पर्ने उनी बताउँछन् ।






