काठमाडौं, २५ साउन
नेपाल विद्युत प्राधिकरणले बिहीवार आयोजना गरेको एक पत्रकार सम्मेलनमा जब प्राधिकरण प्रमुख कुलमान घिसिङले बोल्ने बेला आएको थियो, झ्याप्प बत्ति गयो ।
प्राधिकरणकै हलमा भएको उक्त कार्यक्रममा बत्ति आउने जाने भइरह्यो । घिसिङले माइक समातेर बोल्दै थिए झ्याप्प बत्ति गयो भने उनले बोल्ने कामलाई एकछिन रोके । बत्ति आउने आश गर्दा गर्दै बत्ति आएन र घिसिङले माइक बिना नै आफ्ना भनाइ राखे ।
विद्युत प्राधिकरणभित्रै भएको कार्यक्रममा बिजुली गएपछि उपस्थित सबैलाई घिसिङले एकैछिनमा बत्ति आउने जानकारी पनि गराएका थिए । तर बत्ति नआएपछि उनले भने– ‘प्रसारण लाइनमा गडबडीका कारण बत्ति गयो । केही बेरमै आउँछ ।’ केही बेरमा बत्ति आयो ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईको अनुसार भरतपुरको लाइन आपूर्तिमा एक्कासि अवरोध आउँदा त्यसको प्रभाव अरू क्षेत्रमा पनि परेको हो । भट्टराईले भने ‘ पुरानो एक सव स्टेसन आफैं अफ भएका कारण त्यसैको प्रभाव राष्ट्रिय प्रसारणमा परेको हो । सो क्षेत्रमा गएको बत्तिका कारण अरू क्षेत्रमा पनि लोड नधानेर बत्ति झ्याप्पै गएको हो ।’






