काठमाडाैं जेठ ११
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशभित्र युवाको संख्या घट्दै जानु सुखद नरहेको बताएका छन् ।
शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघको स्थापना दिवसका अवसरमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’को समापन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाले खोजिरहेको कुरा बुझ्न आवश्यक रहेको बताए ।
‘युवाले पार्टी र देशबाट के खोजिरहेको छ ? बुझ्न जरुरी छ । उनीहरू देशमै नरहनु राम्रो संकेत होइन । युवालाई कांग्रेसमा कसरी आकर्षित गर्ने विषयमा महासंघले समेत भूमिका खेल्न जरुरी छ,’ उनले भने ।
उनले पछिल्लो समय पार्टी जनतासँग टाढा भएको र शहर केन्द्रित भएको स्वीकार्दै पुरानो बाटोमा पुनः यात्रा गर्न सुझाव दिए ।
नेता कोइरालाले सांस्कृतिककर्मीलाई पार्टीले चिन्न नसकेको समेत स्वीकारे । ‘कलाकारलाई चिन्ने र बुझ्ने गिरिजाबाबु हुनुहुन्थ्यो । अहिले चुनावको बेलामा सहयोग चाहिँदा मात्र सम्झिने गरेका छौं,’ उनले भने, ‘समयानुकूल परिमार्जित गर्दै महासंघलाई अगाडि बढाउन जरुरी छ । यहाँ कांग्रेस नभए तापनि लोकतान्त्रिक विचार राख्ने कलाकर्मीलाई समेट्न अझै मेहनत गर्नुस् ।’
उनले आगामी निर्वाचनमा कांग्रेसले वडा तहबाट नै एक्लै लड्नु पर्ने विचार समेत राखे ।
भेलामा देशभरबाट सांस्कृतिककर्मीको उपस्थिति रहेको महामन्त्री शिवशंकर रिजालले जानकारी दिए । ‘सातै प्रदेशबाट प्रतिनिधि आउनुभएको छ । यस भेलाले महासंघलाई अघि बढ्न मार्गदर्शन समेत दिएको छ,’ महामन्त्री रिजालले भने ।
उनले ६ महिनामा महाधिवेशन गर्ने तयारी भइरहेको समेत जानकारी दिए । भेलाको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गरेका थिए ।










