काठमाडौं जेठ १०
राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
सांसद गौतमले सो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न जोकोहीलाई पनि नियम र कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएका छन् ।
बुधबार संघीयसंसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले २०४७ सालयता भएका मन्त्री र उच्च प्रदस्थ कर्मचारीहरूको पनि सम्पत्ति छानविन गरी भ्रष्टमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद गौतमले सरकारले सो प्रकरणको दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै धन्यवाद समेत दिन भयो ।
“त्यो अपराध हो । ज्यादै ठूलो अपराध हो । त्यसलाई नियम र कानुनबमोजिम कारबाही हुनुपर्छ । कारबाही गर्ने प्रक्रिया सुरु भएको छ । सरकारलाई म धन्यवाद दिन्छु, उनले भने ।
सांसद गौतमले भ्रष्टाचारजन्य गतिविधिबारे उठेका विषयहरूको छानविन गर्न सरकार पछि पर्न नहुने बताए ।










