काठमाडाैं बैशाख २८,
प्रहरीले अनुसन्धान गरिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ थुनुवालाई विभिन्न हिरासतमा राखिएको छ ।
प्रहरी स्रोतका अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ भने उनका निजी सचिव नरेन्द्र केसीलाई लैनचौर वृत्तको हिरासतमा राखिएको छ ।
नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई टेकु परिसरको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
तत्कालीन गृहमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई टेकु परिसरको हिरासतमा राखिएको छ ।
दाङका सन्देश शर्मालाई दरबारमार्ग वृत्तको हिरासत, मोरङका केशव दुलाललाई कालिमाटी वृत्तको हिरासत, मोरङका सागर राईलाई टेकु परिसरको हिरासत, ललितपुरका सानु भण्डारीलाई जनसेवा वृत्तको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पाँचथरका कुमार गुरुङलाई जनसेवा वृत्तको हिरासत, टोखाका रामशरण केसीलाई टेकु परिसरको हिरासत, सुनसरीका गोविन्द चौधरीलाई टेकु परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।










