काठमाडौँ वैशाख २७,
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको छानबिन गरिरहेको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ७, चावहिल, मैजुबहालस्थित निजी निवासबाट उनलाई पक्राउ गरेको हो ।
उनी भाडाको घरमा बस्दै आएका थिए । खाँणलाई पक्राउ गरिएपछि उनको निवास सुनसान रहेको छ । उनको निवासअगाडिका एक पसलेकाअनुसार कालो सिसा भएको उनको निजी गाडीमै राखेर उनलाई लगिएको हो ।
सुरक्षाका कारण नाम उल्लेख गर्न नचाहने उनले भने, “एउटा गाडी यहीँ थियो । सरकारी प्लेट भएको अर्को गाडी पनि आयो । अनि भित्रबाटै उहाँको गाडी निस्कियो । उहाँ जानुभयो होला । कालो सिसा भएकोले मैले उहाँलाई देखिनँ ।”
उनले खाँणलाई पक्राउ गरेको भन्ने आफूलाई जानकारी नभएको बताए ।
“सधैँ भित्रबाटै गाडी चढेर जाने हो, बाटोमा निस्किनुहुन्थेन,” उनले भने, “त्यसैले पक्रेको हो कि आफैँ कहीँ गएको हो, थाहा भएन । तीन वटा गाडी चाहिँ लाइनै गयो ।”
सधैँभरि बिहानै छतमा गएर सूर्यलाई जल चढाउने गरेको भए पनि बुधबार भने उनले जल चढाएको पनि नदेखेको अर्का छिमेकीले बताए । उनलाई प्रहरीले लिएर गए पनि त्यहाँ कुनै हल्ला, भिडभाड नभएको ती छिमेकीले जानकारी दिए ।
नक्कली शरणार्थी प्रकरणका एकजना ‘नाइके’ अभियुक्त भनिएका सानु भण्डारीसँग ०७९ चैत १३ गते अनुसन्धान अधिकारी दिनेश वस्यालले लिएको बयानमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई साढे ४ करोड र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई डेढ करोड रुपैयाँ बुझाएको उल्लेख भएको तर सो अडियो नै बेपत्ता पारिएको आरोप उनीमाथि लागेको थियो ।
पक्राउ परेका अर्का एक अभियुक्तले प्रहरीले आफूले उल्लेख गरेका खाँण लगायतका नाम मेटाएमा आत्मदाह गर्नेसम्मको धम्की दिएको समाचार मंगलबार मात्र सार्वजनिक भएको थियो ।










