काठमाडौं, पुष ४-
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सोमवार नेपाल नगरपालिका संघको ८औँ राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरैजसो नगरपालिकाहरु अव्यवस्थित सहरीकरणबाट गुज्रिँदा नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र शहरहरु दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेका बताए ।
देउवाले काठमाण्डौ लगायत सबै नगरलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउन आवश्यक रहेको पनि बताए ।
उनले नागरिकको अपेक्षा र आवश्यक्तालाई उचित सम्बोधन हुनेगरी स्थानीय श्रोत साधनको समुचित परिचालन गर्दै जनप्रतिनिधिले आफ्नो दयित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताए ।
उनले पालिकाको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताए ।
उनले नागरिकको काम विना झन्झट, छिटो, छरितो रुपमा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।










